Friday, July 17, 2015

सेतो बाघ vs पाटे बाघ

श्री ३ जंगबहादुर नामैले जंग थिए । अझ उनी बिशेष दम्भले थिए । उनले शिकार खेल्ने निहुँमा लगभग पुरा राष्ट्र घुमेका थिए । उनको सपना थियो सेतो बाघ मार्ने तर त्यो पुरा हुन सकेन । मृत्युवरणको अघिल्लो दिन दृष्यभ्रममै भए पनि देखेका थिए सेतो बाघ तर निशाना चुक्नाले बुझेका थिए आफ्नो अन्त्य नजिक छ । देशमा प्रजातन्त्र आँउछ भन्ने डरले राजतन्त्र पनि आउन दिएनन् उनले । उनी दुरदर्शी र अचुक छन भन्ने सारा देशबासी मान्थे । आफु चुकेको पत्तो पाएका थिए उनले अन्तिम तिर । देश घुम्दा भेटेका थिएनन् श्री ३ ले आँखामा आँखा र स्तरमा स्तर भिडाएर कुरागर्ने कोही । त्यसैले जीवन भर खासै साथी भन्न लायक कोही भेटेनन् ।

श्री ३ जंगबहादुर
पाल्पा बाट सिधै अर्घा निस्कँदा अर्घा दरबार पुग्न थप आधादिन खर्चिनु अघिँ बासको जोहो हुन कठिन भो । आफ्नो गिठ्ठे टोलीलाई एकमुष्ट खाना खुवाउने र बास बसाउने घरको खोजीमा एकमात्र उपाय ब्रम्हपुत्र नामले चिनिने ब्यापारी भेटेका थिए । सम्पुर्ण भाईभारदार र पोकेहरूले राजकीय सम्मान सहित बास र भोजन पाए । दरबार बाट निस्किए पछि पहिलो पटक यो सम्मान र सुकुन पाएका थिए सबैले । बिश्वास नै लागेन जंगबहादुरलाई त्यो अपर्झटको बन्दोबस्ती त्यो पनि त्यस्तो अनकन्टारमा । बिहान टोली हिड्नु अघि जंगबहादुरले ब्रम्हपुत्रलाई भनेका थिए के चाहन्छौ यो सेवा बापत ? 
'देशलाई एकदिन चुले निम्तो दिने अन्नपात छ, नेपाल सम्म पुग्दा पाईला पाईलामा राख्ने हिरा जवारात र सिक्का छ, मेरो अगाडी मात्र हैन पछाडि पनि जयजयकार गाउने जनगारत छ । मलाई केही चाहिन्न बरू देशको नाममा, सरकारको पाउमा के बिन्ती चढाउँ?' मर्जी होस् । झण्डै होस उढेको श्री ३ को ।
हात जोडेरै शिर निहुराएर म तिमी भन्दा कम छैन भन्ने भाव देखाएर ब्रम्हपुत्रले जंगलाई झस्काउने गरी बोलेका थिए; केहि शब्द आएन जंगेको मुखमा । र यसरी नै जितेका थिए ब्रम्हपुत्रले सरकारको हृदय, मनपेट । जंग हार्ने मध्येका थिएनन् त्यसैले नजिकको अर्को पुरै पहाड उनलाई उपहार दिदै भनेका थिए "यो पहाड उपभोग गर, एक बर्ष भित्र कसरी उपभोग भयो या हुँदैछ खबर पुगोस् र खबर जनता बाट पुगोस् ।" यसरी जंगले पहिलो पटक कुम मिलाउन मिल्ने कोहि भेटेका थिए तर पनि उनले ब्रम्हपुत्रको छाती र पेट ठुलै देखे आफ्नो छाती दबेको देखे, पेट पनि कुच्चिएको जस्तो । पहिलो पटक कतै मनमनै हारेका थिए जंगले ।
यसरी एउटा पहाडै ब्रम्हपुत्रले पाएका थिए यो पनि चुनाैती थियो । कमि त थिएन ब्रम्हपुत्रलाई ब्यापारी भैकन पनि सेवाभावले पुरै क्षेत्र रिझाएका थिए अब पुरै पहाड पो भोगचलन गर्नु थियो आफ्नो नाम र ईज्जत राखेर थपेर ।
उनले पहाडको शिरमा मन्दिर र पाठशाला बनाए अनि बृद्धाश्रम फेँदि मा ।
यसरी अहिले पनि ति अवशेष बाँकी छन अर्घा नजिकका ति पहाडमा जो ब्रम्हपुत्रले जोडेका थिए । त्यो पहाडको नाम उनले जंग राखेका थिए र ति संरचनाको ब्रम्हभेट । उनी बिलिन भएको २० बर्ष पछि सम्म उनैले छोडेको सम्पतीले पाठशाला र बृद्धाश्रम चल्यो । पछि सरकार बाट कुनै सहयोग हुन सकेन र संरचनाका अवशेष मात्र बाँकी रहे । केही बृद्धहरू सम्झन्छन् उनलाई उनी सायदै एकपटकमा ४ शब्द भन्दा धेरै बोले होलान । नराम्रो कहिल्यै बोलेनन् । उनको ब्यापार नाफाका लागि थिएन सेवाका लागि थियो । उनि नै सेवाका लागी थिए । उनि स्वभिमानी थिए जसका अगाडी जंगबहादुरको पनि मन झुकेको थियो श्री खसेको थियो उनको पाउमा ।

उनको शरिर मन्दिरमा पद्मासनमा भेटिएको थियो जहाँ त्यो सेवीमन थिएन तर स्वभिमान र सन्तुष्टी उनको अनुहारमा प्रष्टै थियो । भनिन्छ जंगको र उनको मृत्यु एकैदिन भएको थियो तर मृत्यु पछि पनि ब्रम्हपुत्रको अनुहार चहकिलो नै थियो तर जंगको थिएन । उनको देहत्यागले धेरैलाई रूवाएको थियो । उनी भगवान थिए त्यो क्षेत्रका । उनले नेपालका लागि जति नै सेवा गर्दा पनि मर्दा नेपाली भएर मरेनन् । उनी कहाँ बाट आए? किन त्यही आए? किन उनी धेरै बोल्दैनथे? उनको खासनाम के हो? अहिले पनि कथा सुन्न सकिन्छ~~ 
उनि न जन्मिए
न मरे
यसै उत्पत्ति भए
समय सकिएपछि
बिलिन भए ।

तर उनी अझै मरेका छैनन् कथामा जिउँदै छन्...
मन सम्म पुग्नेछन्......
ब्रह्माण्ड बाट पृथ्वीलोकमा स्वयं ब्राह्म मानव जुनि लिएर आएको मानिनेछन् ।
नमन त्यो मनलाई ।

NOTE: यो कथा प्युठानका धेरै पुराना ब्यापरीको कथामा आधारित हो नाम र स्थान परिवर्तन गरिलेखिएको हो यहाँ ।