उ हो आम मानिस; नाम चाहिँ भैरे । सधैँ झैँ आज पनि भैरे सबेरै उठ्यो १० बजे । उ सधै जसो घाम लाग्नु अघिनै उठछ कहिले १० कहिले ११ धेरै जसो १२; उसको कोठामा दिउसो १ बजे घाम लाग्छ । आजकाल कलेज पनि छैन उसको; रिजल्ट कुरेको १ बर्ष हुन थाल्यो अझै कुर्दै छ । महिनामा एक पटक जागिरको हावा आउँछ अनि ९ दिन तयारी र सपनामा बिताउँछ। बाँकी २० दिन फेरी जागिर खोज्नमा । आज फेरी एक ठाउँ पुग्नुछ उसलाई जागिरकै लफडा । जानेको चुरोट तान्न र केटाहरू संग टाईटाई फिस हान्न । गाँउ हुँदा पनि ढलेको सिन्को उठाएको हैन । उसका बाउ भारतका आर्मी गााउमा त हिरो हो यहाँ सहरमा फिस्स । बल्खुको एउटा हार्डवेयर पसलमा बस्ने काम गर्न जाने तयारीमा छ उ सबेरै देखि । जागेको त ६ बजे नै हो तर सपना देखेरै १० बजायो । तलब १२ आउँछ; पहिलो तलबबाट बाउलाई १६५० जतिको घडी तोफा हालेर मख्ख पार्ने सपना पनि धेरै पटक देखेको हो आज पनि देख्यो । तलव आएकै दिन रातभरी ४ ओटा बियर पिउने सपना पनि धेरै देख्यौ भैरेले । केटाहरूलाइ एक एक बट्टा ब्ल्याक चुरोट गिफ्ट पनि गर्ने रहर पुरानो हो । शनिवार गुन सिनेमामा गर्लफ्रेण्ड संग फिलिम त कति हेर्यो कति; सपना मै। कहिले काहिँ रिलिज नै नभएका पनि हेर्थ्यो र पो मार्थ्यो भैरेले । हुँदा हुँदा दशैमा बाईक किनेर आफ्नै डिस्कभरमा घर जाने सपनाको त कुरै नगरौँ।
उ आम मानिस हो सपनै सपनाले थिचेर कुप्रिएको; सहरको एक कुनामा कुनाको घरको कुनैको कोठामा बस्ने । पानी छैन धारामा बिजुली छैन तारमा फ्रिमा पाउने घामको उजेलो पनि पुग्दैन भैरेको संसारमा । जे नै होस उ साधारण देखेन्छ मानौँ केही जानेकै छैन तर धेरै जानेको छ; उसको पनि मन छ उसको पनि सपना र सोच छन । अरूले सोच्छन यस्लाई केही मतलब छैन जे भनेको नि मान्छ जहाँ बोलाए नि आउँछ । धेरै बोल्दैन तर बोल्योकी काउकुति लाउछ भैरे । भैरे हल्का छ सधै सबै संग मुस्काई रहन्छ उ ।
केटो खासै अल्छी छैन सधैँ झैँ आज पनि खित्रो खाएर जागिर पनि खान पुग्ने सुर गर्यो। अघिल्लो दिन पकाएको कुक्कर अलग्गै जुठो नहालि खुत्रुक्क राखेको थ्यो । मनखत लागेरै आधा गिलास पानी खर्चेर पखाल्यो कुक्कर; अनि एक मुठी चामल एकमुठी दाल अलिकति हिजो बचेको काउली पनि एकै ठाउँ हाल्यो । कस्तो हुने रैछ भनेर कागती पनि हाल्यो भैरेले सुरूमै । एक चम्चा घरबाट ल्याएको बैलकोल्हु तोरीको तेल पनि हालेर पकायो भैरेले खिचडी । ल्या नुन नै हाल्न बिर्सेछ । कहिले तेल हाल्न बिर्सिन्छ र कुक्करले पानी फाल्छ कहिले ग्यास खोल्नै बिर्सिन्छ । हिजो कै कुरा ग्यास खोलेर गएको छिमेकी संग गफ लाएर फर्किदा खित्रो चैट डढेर । तै नुन छर्केर खायो । कागतीले गर्दा झन्न नुन पछि हाल्दा पनि त्यति धेरै नमिठो भएन । कोठमा बिस्तारा नमिलाएको बर्ष भै सक्यो तर आफ्ना कपडा चाहिँ मिलाएर लाउँछ भैरे । भलै सिरक र तन्ना नधोएको बर्ष भयो सधै सुत्ने बेला सम्झिन्छ धुनु पर्ने भन्ने तर के गर्नु सुत्ने बेला धोएर सुत्नु के मा? भैरै आफ्ना कपडा धुन चाहिँ बिर्सिन्न । नुहाउन चाहिँ जाडोमा २ महिनामा ३ पटक हो गर्मिमा पनि उस्तै पानी भए पो । लुगा चाहिँ ढुंगे धारामा धुन्छ; नुहाउन खुब लाज लाग्छ उसलाई धारामा ।
खित्रो खायो अनि निलो जिन्स र सेतो टिसर्टमा ठाँटियो भैरे तोरिको तेलमा थोरै पानि मिसाएर कपाल, अनुहार र हात पनि चिल्लो खाईलाग्दो देखायो । भैरेको कोठामा ऐना छैन झ्यालको सिसामा बल्ल बल्ल आकृति हेर्यो अनि लाग्यो भैरे जागिर खान । उसलाई याद भए सम्म यो सातौँ जागिर खान जाँदैछ उ । यो पाली पाईन्छ कि आश छ अघिल्ला ६ ओटा मा झैँ । केटो घनात्मक बिचारको छ हुन्न केहि भन्दैन नहोला केही भन्दैन । तर सधैँ चुरोटे ओठ र बोल्दा भक्भकिने बानी सुरूमै तर्सिन्छन उस्लाई देखेर जागिर दिनेहरु । सोझो छ उ बाँङ्गो बोल्दैन कतै लुटने छल्ने बिचार छैन उसको तर उसको हुलिया नै त्यस्तै बिचरा के गरोस् ।
आशा छ भैरेले आज जागीर पाउँछ ।
No comments:
Post a Comment